काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका डा. गोविन्द केसी फेरि आमरण अनशनमा बस्ने भएका छन्। दार्चुलाबाट जारी विज्ञप्तिमार्फत उनले सरकारले पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको र स्वास्थ्य तथा चिकित्सा शिक्षालाई निजी स्वार्थको नियन्त्रणमा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन्।
डा। केसीले चिकित्सा शिक्षा ऐन–२०७५ पूर्ण रूपमा कार्यान्वयन गर्न, छात्रवृत्ति सिट कटौती गर्ने निर्णय फिर्ता लिन, स्वार्थ बाझिने गरी भएका नियुक्ति खारेज गर्न तथा विगतका सबै सहमति तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।
उनले सरकारको नीतिका कारण निजी मेडिकल कलेजलाई फाइदा पुग्ने तर सरकारी अस्पताल र ग्रामीण स्वास्थ्य सेवा चिकित्सक अभावको संकटमा पर्ने चेतावनी दिएका छन्। छात्रवृत्ति घटाएर सःशुल्क सिट बढाउने निर्णयले विपन्न र जेहेन्दार विद्यार्थी चिकित्सा शिक्षाबाट वञ्चित हुने उनको दाबी छ।
गेटा मेडिकल कलेज सञ्चालनमा सरकारले जानाजानी ढिलाइ गरेको आरोप लगाउँदै उनले राजनीतिक र व्यावसायिक स्वार्थका कारण सार्वजनिक स्वास्थ्य संस्था कमजोर बनाउने खेल भइरहेको टिप्पणी गरेका छन्।
डा। केसीले सरकारले साउन ५ गतेसम्म आफ्ना माग सम्बोधन गर्ने अपेक्षा गरे पनि कुनै प्रतिक्रिया नआएकाले अब साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनीसमेत दिएका छन्।






































