काठमाडौं। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन्।

अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक जना पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०, अर्का हास्यव्यंग्य कलाकार र तेस्रो व्यक्ति दलालको भूमिकामा रहेको प्रहरीले जनाएको छ। उनीहरूले हिरासतमा रहेका चिनियाँ नागरिकलाई रिहा गराइदिने र थप राहदानीको समेत व्यवस्था मिलाइदिने प्रलोभन देखाएर सुरुमा ७२ लाख रुपैयाँ मागेका थिए।

पछि मोलमोलाइ गर्दै ९ लाख रुपैयाँ लिएपछि पीडित पक्षले उजुरी दिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनै जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। मुद्दामा ठगीसँगै प्रभावको दुरुपयोग भएको कोणबाट समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।