चितवन। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीभित्र देखिएको मतभेदलाई विभाजनतर्फ लैजान नहुने बताएका छन्। चितवनमा आयोजित ४४औँ बीपी स्मृति दिवस कार्यक्रममा बोल्दै उनले नेताहरूको मुख्य जिम्मेवारी पार्टी फुटाउने नभई एकताबद्ध बनाएर अघि बढाउने रहेको स्पष्ट पारे।
वृक्षरोपण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले कांग्रेसको एकता नै लोकतन्त्र र मुलुकको विकासका लागि आवश्यक भएको उल्लेख गरे। उनले ूकांग्रेस फुट्नु भनेको देशकै लागि अभिशाप होू भन्दै सबै नेता–कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन सुदृढ बनाउन आग्रह गरे।
बीपी कोइरालाले देखाएको मेलमिलाप, लोकतन्त्र र सहकार्यको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले पार्टीभित्रको विवाद संवाद र सहमतिबाट समाधान गर्नुपर्ने धारणा राखे।
भरतपुर महानगर कांग्रेसले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेता डा। केदारनरसिंह केसी, चितवन कांग्रेस सभापति राजेश्वर खनाल लगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा बीपी कोइरालाको स्मृतिमा वृक्षरोपणसमेत गरिएको थियो।






































