काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले ‘ग्रिन रन’ कार्यक्रममा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई व्यंग्य गर्दै आफूले दौडमा ब्रेक नलगाएको र सरकारले पनि ब्रेकबिनै देश चलाइरहेको टिप्पणी गरेका छन्। बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दौडकै प्रसंग जोड्दै राजनीतिक कटाक्ष गरेका हुन्।
बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको ५ किलोमिटर ‘ग्रिन रन’ कार्यक्रममा सभापति गगन थापाले सरकारप्रति रोचक शैलीमा व्यंग्य गरेका हुन् । युएन पार्कदेखि जावलाखेलसम्म भएको दौडमा स्वयं सहभागी भएका थापाले आफू एकछिन पनि नरोकी पाँच किलोमिटर दौडिएको सुनाउँदै दौडका क्रममा एक सहभागीले गरेको टिप्पणी सार्वजनिक गरे।
उनका अनुसार एक सहभागीले, “दाइले पनि ब्रेक नलगाई दौडिनु हुँदो रहेछ” भनेपछि अर्का सहभागीले “गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने” भनेर ठट्टा गरेका थिए। त्यसको जवाफमा आफूले “यसपालि यस्तै हो” भन्दै मुस्कुराएर प्रतिक्रिया दिएको थापाले सुनाए।
थापाको यो अभिव्यक्तिलाई वर्तमान सरकारप्रति गरिएको राजनीतिक कटाक्षका रूपमा हेरिएको छ। कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनप्रति जनचेतना फैलाउने उद्देश्यले ‘ग्रिन रन’सहित विभिन्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।






































