काठमाडौं। बारम्बार बिना सूचना बिजुली काटिने, मर्मतमा ढिलाइ हुने र उपभोक्ताको गुनासो बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण सुधार अभियानमा उत्रिएको छ। वितरण तथा ग्राहक सेवा निर्देशनालयका नयाँ प्रमुखले पदभार सम्हालेसँगै देशभर लागू हुने २६ बुँदे एक्सन प्लान जारी गर्दै सेवा सुधारका लागि कडा निर्देशन दिएका हुन्।
अब धेरै समस्या देखिने फिडरलाई प्राथमिकतामा राखेर नियमित निगरानी गरिनेछ भने लाइनमा अवरोध पुर्याउने रुखका हाँगा काट्ने, कमजोर संरचना फेर्ने र ओभरलोड ट्रान्सफर्मर व्यवस्थापन गर्ने काम तत्काल अघि बढाइने भएको छ। साथै योजनाबद्ध रूपमा बिजुली काट्नुपरेमा उपभोक्तालाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
प्राधिकरणले ‘समस्या आएपछि मात्र मर्मत’ गर्ने पुरानो शैली अन्त्य गर्दै नियमित पूर्व–मर्मत प्रणाली लागू गर्ने, प्रत्येक फिडरको जिम्मेवारी तोकिएका इन्जिनियरलाई दिने, विद्युत चोरी नियन्त्रण र बक्यौता असुली अभियान पनि तीव्र बनाउने निर्णय गरेको छ।
प्राधिकरणको विश्वास छ, २६ बुँदे सुधार योजना प्रभावकारी रूपमा कार्यान्वयन भए बारम्बार हुने विद्युत अवरोध घट्ने, सेवा थप भरपर्दो बन्ने र उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय विद्युत सेवा अनुभव गर्नेछन्।






































