काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा अघि बढिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी पत्नीमाथि पनि अनुसन्धानको दायरा विस्तार गरेको छ।

अख्तियारले प्रदीप अधिकारीकी पत्नी तथा नेपाली सेनाकी प्राविधिक सह–सेनानी ९क्याप्टेन० सुफल केसीको भूमिकाबारे छानबिन गर्न रक्षा मन्त्रालय र जंगी अड्डालाई औपचारिक पत्राचार गरेको हो। आयोगको प्रारम्भिक निष्कर्षअनुसार विवादित जग्गा कारोबार र आर्थिक लेनदेनमा उनको बैंक खाता प्रयोग भएको आशंका गरिएको छ।

विमानस्थल निर्माणसँग सम्बन्धित ठेकेदारसँग भएको भनिएको जग्गा कारोबारमा आर्थिक अनियमितता र सम्पत्ति शुद्धीकरणको शंका देखिएपछि अख्तियारले अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। अब सोही प्रकरणमा सैनिक अधिकारीसमेत अनुसन्धानको घेरामा तानिएपछि प्रकरणले नयाँ मोड लिएको छ।

अख्तियारले जग्गाको वास्तविक मूल्य र देखाइएको कारोबार रकमबीच ठूलो अन्तर देखिएको दाबी गर्दै बाँकी रकम शंकास्पद आर्थिक कारोबारमार्फत व्यवस्थापन गरिएको हुन सक्ने आधारमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।