काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको प्रक्रिया यथावत् रहने स्पष्ट पार्दै तत्काल सेवा प्रवाहका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गरिने बताएकी छन्।

सोमबार प्रतिनिधि सभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले त्यसअघिसम्म दुर्घटनामा परेका बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन लहानमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको उनले बताइन्।

उनका अनुसार लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, ब्लड बैंक तथा अन्य आधारभूत पूर्वाधार उपलब्ध रहेकाले ट्रमा सेवा तत्काल सञ्चालन गर्न सहज हुने अवस्था छ। मन्त्री मेहताले लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको ट्रमा सेन्टरको विकल्प नभई नयाँ संरचना तयार नहुँदासम्मको अन्तरिम व्यवस्था भएको स्पष्ट पारिन्।

उनले सरकारको लक्ष्य देशका विभिन्न स्थानमा आवश्यकता अनुसार ट्रमा सेन्टर र ट्रमा युनिट विस्तार गर्दै दुर्घटनाका घाइतेले समयमै उपचार पाउने वातावरण सुनिश्चित गर्नु रहेको बताइन्। मन्त्री मेहताले ढल्केबरमा निर्माणाधीन ट्रमा सेन्टरको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र तत्काल उपलब्ध पूर्वाधारमार्फत नागरिकलाई सेवा दिन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।