काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका मदिरा सेवन र अश्लील भिडियोसम्बन्धी आरोपको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।

उनले आरोप प्रमाणित भए सांसद पद मात्र होइन, राजनीतिक जीवनबाटै अलग हुने घोषणा गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले संसदअन्तर्गतको स्वास्थ्यसम्बन्धी निकाय र चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गराउन तयार रहेको बताए। उनले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए तत्काल सांसद पदबाट राजीनामा दिने प्रतिबद्धता जनाए।

शाहीले सामाजिक सञ्जालमा प्रचार गरिएको अश्लील भिडियो आफ्नो नभएको दाबी गर्दै अनुसन्धानबाट उक्त भिडियो आफ्नो भएको पुष्टि भए राजनीतिक जीवनबाट संन्यास लिने बताए। उनले गलत सूचना र आधारहीन आरोपका कारण आफ्नो चरित्र तथा राजनीतिक प्रतिष्ठामाथि आघात पुगेको उल्लेख गर्दै दोषी पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरे।

यस विषयमा प्रहरीमा निवेदन दर्ता गरिसकेको जानकारी दिँदै शाहीले भिडियो आफ्नो नभएको पुष्टि भए गलत सूचना फैलाउने व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए।