काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरूसँग निकट रहेर शक्तिको केन्द्रमा काम गरेका स्वकीय सचिव तथा उनीहरूका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिको स्रोतबारे अख्तियारले अनुसन्धान थालेको हो ।
अख्तियारले भानु देउवाको सम्पत्तिको विस्तृत अनुसन्धानका लागि प्रचलित भाषामा ‘१३ पाने फारम’ भराइसकेको स्रोतले जनाएको छ । आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको परिवारको नाममा रहेको सम्पत्ति तथा त्यसको स्रोतबारे विवरण संकलन भइरहेको छ ।
अनुसन्धानका क्रममा भानु देउवा तथा उनको परिवारका बैंक खाता, जग्गा, शेयरलगायत सम्पत्तिको विवरण मागिएको छ । सम्पत्ति कसरी आर्जन भयो र त्यसको स्रोत वैध हो कि होइन भन्ने विषयमा आयोगले कागजात तथा विवरण अध्ययन गरिरहेको बताइएको छ ।
यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालमा स्वकीय सचिव रहेकी गंगा दाहाल र उनका पति जीवन आचार्यको परिवारको सम्पत्तिमाथि पनि अख्तियारले अनुसन्धान अघि बढाएको छ । आचार्य कोशी प्रदेशसभाका सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन् ।
अख्तियार स्रोतका अनुसार गंगा दाहाल र जीवन आचार्यको सम्पत्ति अनुसन्धान भानु देउवाको भन्दा केही अगाडि बढिसकेको छ । अनुसन्धानका क्रममा देखिएका केही सम्पत्तिको स्रोत खुलाउन थप विवरण तथा कागजात माग्ने प्रक्रिया चलिरहेको छ ।
सम्पत्ति अनुसन्धानमा सम्बन्धित व्यक्तिका परिवारका सदस्यको सम्पत्तिसमेत जोडिएर हेर्न सकिने भएकाले गंगा दाहालका पति जीवन आचार्यसमेत अनुसन्धानको दायरामा आएको अख्तियारसम्बद्ध स्रोतको भनाइ छ ।
यसअघि नै अख्तियारले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यको सम्पत्तिमाथि पनि अनुसन्धान थालेको छ । बज्राचार्यलाई अख्तियारको टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइएको थियो ।
यससँगै पछिल्लो समय अख्तियारको अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्रीहरूसँग निकट रहेका राजनीतिक सहयोगी तथा स्वकीय सचिवहरू परेका छन् । प्रधानमन्त्रीको कार्यालय तथा सत्ताको केन्द्रसँग नजिक रहने व्यक्तिहरूको आर्थिक हैसियत र त्यसको स्रोतबारे प्रश्न उठेपछि आयोगले उजुरीका आधारमा अनुसन्धान अघि बढाएको देखिन्छ ।
तर सम्पत्ति अनुसन्धान सुरु हुनु मात्र अनियमितता वा भ्रष्टाचार पुष्टि हुनु भने होइन । आयोगले संकलन गरेको विवरण, सम्पत्तिको स्रोत र सम्बन्धित व्यक्तिहरूको जवाफका आधारमा आगामी अनुसन्धानको दिशा तय हुनेछ ।






































