काठमाडौं । जापानी इन्सेफ्लाइटिसले पछिल्लो ५५ दिनमा देशभर ९ जनाको ज्यान लिएपछि स्वास्थ्य क्षेत्रमा चिन्ता बढेको छ । असार र साउनको तथ्यांकअनुसार ४६ जनामा संक्रमण पुष्टि भएकामा ९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमण र मृत्युको तथ्यांक हेर्दा कोशी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । कोशीमा मात्रै ६ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेशमा झापामा तीन, इलाममा एक, मोरङमा एक र सुनसरीमा एक जनाको मृत्यु भएको तथ्यांक छ । यसले पूर्वी नेपालमा जापानी इन्सेफ्लाइटिसको जोखिम गम्भीर रहेको देखाएको छ ।
मधेस प्रदेशमा पनि संक्रमण फैलिएको छ । बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरीमा गरी ११ जना संक्रमित भएका छन् । तीमध्ये धनुषा र रौतहटमा एक–एक जनाको मृत्यु भएको छ । दाङमा समेत एक जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागको तथ्यांकमा उल्लेख छ ।
संक्रमणभन्दा पनि खोपको अवस्था चिन्ताको अर्को पक्ष बनेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार मृत्यु भएका तथा संक्रमितमध्ये अधिकांशले जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ । त्यसैले पछिल्लो तथ्यांकले संक्रमण नियन्त्रणमा खोपको पहुँच र खोप लगाउने दरलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।
जापानी इन्सेफ्लाइटिस संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । तर यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्दैन । लामखुट्टे नियन्त्रण, जोखिम क्षेत्रमा सावधानी र विशेषगरी बालबालिकालाई समयमै खोप लगाउनु संक्रमणबाट बच्ने महत्वपूर्ण उपाय मानिन्छ ।
पछिल्लो तथ्यांकले विशेषगरी कोशी र मधेस प्रदेशका केही जिल्लामा निगरानी र रोकथामलाई थप प्रभावकारी बनाउनुपर्ने संकेत गरेको छ । ५५ दिनमै ९ जनाको मृत्यु भएपछि स्वास्थ्य निकायले जोखिम क्षेत्र पहिचान, खोपको अवस्था र रोग निगरानीलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।






































