काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न क्षेत्रमा देखिएको रासायनिक मल अभाव तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले रोपाइँ सकिए पनि विशेषगरी मधेशलगायतका क्षेत्रमा किसानले अझै पनि पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले सरकारले समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरे।

प्रचण्डका अनुसार उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाको प्रभावका कारण वास्तविक किसानसम्म समान रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ। उनले यस्तो अवस्थाले किसानलाई थप समस्यामा पारेको उल्लेख गरे। नेपालमा रासायनिक मल आयात प्रक्रिया जटिल भएकाले समयमै योजना बनाएर खरिद प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आपूर्ति र वितरणलाई प्राथमिकतामा राख्दै अर्को आर्थिक वर्षका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरेको दाबी गरे। प्रचण्डले सरकारले तत्काल आयात प्रक्रिया पूरा गरी पर्याप्त मलको उपलब्धता सुनिश्चित गर्न, आगामी वर्षका लागि समयमै तयारी गर्न तथा मलको कालोबजारी र बिचौलियामाथि कडा नियन्त्रण गर्न आग्रह गरेका छन्।