डब्लिन (आयरल्याण्ड) / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन आयरल्याण्ड पुगेका छन्।

डब्लिनस्थित र्याडिसन होटलमा सोमबारदेखि सुरु हुने दुईदिने सम्मेलनमा पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उनी आइतबार साँझ डब्लिन पुगेका थिए। उनलाई एनआरएनएका अध्यक्ष डा। हेमराज शर्मा लगायत पदाधिकारीहरूले स्वागत गरेका थिए।

सम्मेलनमा युरोपसहित विश्वका विभिन्न देशबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, नेपालमा लगानी, महिला सशक्तीकरण, युवा नेतृत्व विकास र दोस्रो पुस्ताका गैरआवासीय नेपालीको सहभागितालगायत विषयमा १० वटा विषयगत सत्र सञ्चालन गरिनेछन्।

आयोजकका अनुसार हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीले सहभागिता सुनिश्चित गरिसकेका छन् भने कुल करिब २५० प्रतिनिधिको उपस्थिति रहने अपेक्षा गरिएको छ। सन् २००३ मा स्थापना भएको एनआरएनएले विश्वभर रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई एक साझा मञ्चमा आबद्ध गर्दै उनीहरूको हकहित संरक्षण, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथाविदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ कार्य गर्दै आएको छ।

हाल संघको सञ्जाल ९२ देशमा विस्तार भएको छ भने एक लाखभन्दा बढी सदस्य आबद्ध छन्।