सिराहा / बोलबम यात्रामा सहभागी श्रद्धालु बोकेको ट्याक्टर सिराहामा दुर्घटनामा पर्दा १५ जना घाइते भएका छन्।

घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सोमबार कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि उक्त दुर्घटना भएको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार थिए।

प्रहरीका अनुसार स्कुलको गेटअगाडिको उकालोमा पुगेपछि ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिएको थियो। दुर्घटनामा विभिन्न उमेर समूहका १५ जना श्रद्धालु घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हामा भर्ना गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा रहेको छ। ट्याक्टर चालक धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका करिब ३५ वर्षीय रामबिहारी मण्डल फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ।