काठमाडौं / कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई सुदृढ बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।

उनले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा सहज रूपमा प्राप्त गर्न सके मात्रै लोकतन्त्र थप सशक्त बन्ने धारणा व्यक्त गरिन्। सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री गौत्तमले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले मातृभाषा पत्रकारिताको महत्व अझ बढी रहेको बताइन्।

उनले नेपालको पहिचान इतिहासका दस्तावेजमा मात्र सीमित नभई यहाँका भाषा, संस्कृति, चाडपर्व र जीवनशैलीमा पनि प्रतिबिम्बित हुने उल्लेख गर्दै मातृभाषाको संरक्षण र प्रवर्द्धनमा पत्रकारहरूको योगदान प्रशंसनीय रहेको बताइन्।मन्त्री गौत्तमका अनुसार लोकतन्त्र त्यतिबेला मात्र बलियो हुन्छ, जब हरेक नागरिकले आफूले बुझ्ने भाषामा राज्यका नीति, योजना र गतिविधिबारे जानकारी पाउने अवसर प्राप्त गर्छ।

उनले अझै पनि देशका धेरै स्थानमा नागरिक राज्यका सूचनाबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको उल्लेख गर्दै राज्य र नागरिकबीचको सूचना पहुँचको दूरी कम गर्न सरकार प्रयासरत रहेको बताइन्। राज्यका सूचना समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउने जिम्मेवारी मातृभाषा पत्रकारहरूको काँधमा रहेको उल्लेख गर्दै उनले यस अभियानलाई थप सशक्त बनाउन आग्रह गरिन्।