काठमाडौं / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सरकारले विनियोजन गरेको बजेट नलिने भएका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको कोइराला निवासका लागि सरकारले आर्थिक वर्ष २०८३ र ८४ को बजेटमार्फत २ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, उक्त सरकारी रकम स्वीकार गर्न आफू नैतिक रूपमा असमर्थ रहेको डा. कोइरालाले बताएका छन्।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता गर्ने सम्बन्धमा पत्रसमेत पठाएका छन्।  डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले मन्त्रालयलाई बजेट फिर्तासम्बन्धी पत्र पठाइएको जानकारी दिए।

सरकारले कोइराला निवासको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि विनियोजन गरेको रकम स्वीकार नगर्ने निर्णयसँगै उक्त बजेट फिर्ता हुने भएको छ।