काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधानमार्फत स्थापित संघीयता, समावेशिता, सामाजिक न्याय र पहिचानका उपलब्धिलाई जोगाउँदै थप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता तथा सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उल्लेख गरे। यी उपलब्धि जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएकाले कुनै पनि बहानामा कमजोर बनाउन नहुने उनको भनाइ छ।
आङदेम्बेले संविधानमा देखिएका कमजोरी संशोधन र परिमार्जनमार्फत सुधार गर्न सकिने बताए। तर जनआन्दोलन र लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धि नै समाप्त गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्वसहितको संघीय व्यवस्थालाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।
साथै, समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उनले विश्वभर रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गरेका छन्।






































