काठमाडौं / हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षको अन्त्यसम्म ७७ करोड ४० लाख रुपैयाँ वितरणयोग्य नाफा संचित गरेको छ।

कम्पनीको वित्तीय विवरणअनुसार यो रकमका आधारमा कम्पनीले करिब ९३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने अवस्था रहेको छ। गत आर्थिक वर्षमा कम्पनीले ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको थियो। कम्पनीको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ।

अघिल्लो वर्ष २२ करोड १० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ। यससँगै कुल कर्जा प्रवाह ८ अर्ब २ करोड ५५ लाख रुपैयाँबाट १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ। वित्तीय विवरणअनुसार कम्पनीले निष्क्रिय कर्जा (एनपीएल) पनि उल्लेख्य रूपमा घटाएको छ। अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर १.८७ प्रतिशतमा झरेको छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४८.०४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २६.०४ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ तथा रिटर्न अन इक्विटी २१.१२ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज कर्जा प्रदायक हुलास फिनसर्भले बुक बिल्डिङ विधिबाट २० लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको तयारीसमेत गरिरहेको छ। कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ रहेको छ।

कम्पनीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि प्रभावकारी कर्जा व्यवस्थापन, असुली प्रक्रिया र व्यवसाय विस्तारका कारण वित्तीय प्रदर्शन सुदृढ भएको जनाएको छ।