काठमाडौं । नेपालको राजनीतिक वृत्तमा पछिल्लो समय पुराना र नयाँ शक्तिबीचको बहस तीव्र बन्दै गएको छ । एकातिर परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि छ भने अर्कोतिर नयाँ राजनीतिक शक्तिप्रति जनताको अपेक्षा चुलिएको देखिन्छ ।
यस्तै परिवेशमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा बाजुराको गौमुल गाउँपालिका–३ का वडा अध्यक्ष अमर विकले नेपालको राजनीतिक यात्रालाई इतिहास, बलिदान र पुस्तान्तरणको सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनका अनुसार लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारका लागि नेपाली समाजले लामो संघर्षको मूल्य चुकाएको छ । त्यसैले वर्तमान राजनीतिक प्रणालीका कमजोरीहरू औँल्याउने क्रममा विगतका ऐतिहासिक योगदान र बलिदानलाई पूर्ण रूपमा अस्वीकार गर्नु उचित नहुने उनको तर्क छ ।
पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक बहसमा ‘पुराना दलहरूले तीन दशकभन्दा बढी समय देश लुटे’ भन्ने अभिव्यक्ति व्यापक रूपमा सुनिन थालेको छ । तर विक यस्तो निष्कर्षमा पुग्नुअघि नेपालको राजनीतिक इतिहास गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताउँछन् । विकले स्मरण गराएअनुसार नेपालले १०४ वर्षे राणा शासन, त्यसपछिको ३० वर्षे पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यसम्मको यात्रा सहज रूपमा पार गरेको होइन । ती व्यवस्थाविरुद्ध भएका आन्दोलन, जनसंघर्ष र बलिदानले नै आजको राजनीतिक व्यवस्था सम्भव भएको उनको भनाइ छ ।
‘राणा शासन र पञ्चायत आफैँ समाप्त भएका होइनन् । हजारौँ नागरिकको संघर्ष, त्याग र बलिदानले परिवर्तन सम्भव भएको हो,‘उनी भन्छन् । गणतन्त्र स्थापनाको प्रक्रियामा १० वर्षे जनयुद्धका क्रममा करिब १७ हजार नागरिकले ज्यान गुमाएको तथ्यलाई स्मरण गर्दै उनले राजनीतिक उपलब्धिको मूल्यांकन गर्दा त्यस्ता बलिदानीलाई बिर्सन नहुने धारणा राख्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उदयलाई नेपाली राजनीतिमा आएको स्वाभाविक परिवर्तनको संकेतका रूपमा उनले हेरेका छन् । जनताले नयाँ विकल्प खोज्नु लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उनको बुझाइ छ । तथापि, नयाँ शक्ति उदाउँदैमा देशको अवस्था तत्काल परिवर्तन हुने अपेक्षा यथार्थपरक नहुने उनको टिप्पणी छ ।
उनका अनुसार नेपालले अहिले आर्थिक स्रोतको अभाव, सीमित उत्पादन क्षमता, रोजगारी संकट, कमजोर पूर्वाधार र विकास आयोजनाको ढिलाइ जस्ता संरचनागत चुनौतीहरू सामना गरिरहेको छ । यस्ता समस्याको समाधान कुनै एक दल वा नेतृत्वले छोटो अवधिमा गर्न नसक्ने उनी बताउँछन् । ‘राजनीतिक परिवर्तनभन्दा पनि आर्थिक रूपान्तरण अहिलेको मुख्य आवश्यकता हो,” उनी भन्छन,‘तर त्यसका लागि दीर्घकालीन योजना, संस्थागत स्थिरता र सबै पक्षबीच सहकार्य आवश्यक हुन्छ ।’
पुराना दलहरूप्रति बढ्दो असन्तुष्टिबारे बोल्दै उनले नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० लगायतका दलहरूभित्र कमजोरीहरू रहेको स्वीकार गर्छन् । जनताले उठाएका प्रश्नहरूलाई अस्वीकार गर्न नसकिने भन्दै उनले नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार भ्रष्टाचार, गुटबन्दी, सुशासनको अभाव र जनअपेक्षा अनुसार काम गर्न नसक्नुजस्ता कारणले पुराना दलहरूको लोकप्रियता घटेको हो । तर कमजोरी सच्याउन सकिए पुराना दलहरूले पुनः जनविश्वास जित्न सक्ने सम्भावना अझै बाँकी रहेको उनको विश्वास छ ।
‘जनताले विकल्प खोज्नुको अर्थ पुराना दलहरू समाप्त भए भन्ने होइन,‘ उनी भन्छन् । ‘नेतृत्वले अनुशासन, इमानदारी र जनउत्तरदायित्व प्रदर्शन गर्न सके जनविश्वास पुनः फर्किन सक्छ ।’ विकको धारणा अनुसार नेपालको राजनीतिक बहस अहिले पुस्तान्तरणको विषयसँग पनि गाँसिएको छ । युवापुस्ताले परिवर्तनको नेतृत्व गर्नुपर्ने आवश्यकता स्वीकार गर्दै उनले अनुभव र ऊर्जा दुवैको संयोजन अपरिहार्य रहेको बताए ।
उनले देश निर्माणलाई परिवारसँग तुलना गर्दै नयाँ पुस्ताले अग्रजहरूको अनुभवलाई अस्वीकार गरेर मात्र सफलता हासिल गर्न नसक्ने तर्क राखे । ‘युवासँग जोश र नवीन सोच हुन्छ, तर राष्ट्र सञ्चालनका लागि अनुभव, धैर्य र परिपक्वता पनि उत्तिकै आवश्यक हुन्छ,’ उनी भन्छन् ।
नेपालको राजनीतिक भविष्यबारे आशावादी देखिएका विकले परिवर्तनको मूल आधार सहकार्य, समन्वय र साझा जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनका अनुसार इतिहासको सम्मान, वर्तमानको आत्मसमीक्षा र भविष्यप्रतिको स्पष्ट दृष्टिकोणको संयोजनबाट मात्र मुलुकले स्थिरता र समृद्धिको बाटो समात्न सक्छ ।






































