काठमाडौं। दाङका जंगलबाट एकैपटक ५५ नाल भरुवा बन्दुक बरामद भएको छ। प्रहरीले साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट यी भरुवा बन्दुकका नाल फेला पारेको हो।
प्रहरीका अनुसार खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ थान भरुवा बन्दुकका नाल बरामद गरिएको छ ।
यी हतियार कसले, किन र कहिलेदेखि जंगलमा लुकाएको थियो भन्ने विषयमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ।वन क्षेत्रमा एकैपटक यति धेरै भरुवा बन्दुक बरामद हुनु सुरक्षा निकायका लागि पनि गम्भीर चासोको विषय बनेको छ। प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति र सम्भावित अवैध गतिविधिबारे अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।






































