काठमाडौं / नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी तथा लाभांश क्षमतामा उल्लेख्य सुधार गरेको जानकारी दिएको छ ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३३ दशमलव ५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी बढ्नु र कर्जा नोक्सानी व्यवस्था इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण बनेको छ । अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ३२ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । यसले बैंकको सञ्चालन नाफा २५ दशमलव २२ प्रतिशतले बढाएर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफा ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको थियो । वित्तीय सूचकहरूमा आएको सुधारसँगै बैंकको लाभांश वितरण क्षमता पनि बढेको छ । नियामकीय समायोजनपश्चात् बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप र कर्जा दुवै दोहोरो अंकले बढेका छन् । ग्राहक निक्षेप १२ दशमलव ९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्ति १५ दशमलव ३८ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र विभिन्न जगेडा कोषसहित कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ । सम्पत्ति गुणस्तरतर्फ पनि बैंकले सुधार देखाएको छ । खराब कर्जा अनुपात एनपीएल ४ दशमलव ४८ प्रतिशतबाट घटेर ४ दशमलव २० प्रतिशतमा झरेको छ भने नेट एनपीएल दशमलव ५८ प्रतिशतमा सीमित रहेको छ । चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ईपीएस २८ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार ७१५ रुपैयाँ ५० पैसा तथा तरलता अनुपात २८दशमलव ८७ प्रतिशत कायम भएको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले नाफा, वितरणयोग्य मुनाफा र सम्पत्ति गुणस्तरमा सुधार देखिएकाले आगामी साधारणसभाबाट आकर्षक लाभांश वितरण गर्ने क्षमता थप बलियो भएको संकेत गरेको छ ।





































