बाँके । बाँकेको नेपालगन्जस्थित एक इँटाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका एक मजदुरको उपचारकै क्रममा ज्यान गएसँगै मृतकको संख्या दुई पुगेको हो।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यू किसान इँटा भट्टामा साउन १८ गते बिहान करिब ११स्२० बजे पर्खाल अचानक भत्किएको थियो। दुर्घटनामा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय रामफैरिन ९रामफेरन० कोरी गम्भीर घाइते भएका थिए।

कोरीको उपचारका क्रममा बुधबार बिहान करिब ३स्३० बजे मृत्यु भएपछि दुर्घटनाले थप दुःखद रूप लिएको हो।मृतक लोधको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइसकिएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

घटनाले निर्माण तथा इँटाभट्टामा कार्यरत मजदुरहरूको कार्यस्थल सुरक्षा फेरि प्रश्नको घेरामा परेको छ। पर्खाल किन भत्कियो, सुरक्षा मापदण्ड पालना गरिएको थियो वा थिएन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।