काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुरानै शैलीमा चलाएर अब अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताएका छन्। उनले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच बलियो नीतिगत समन्वय र विश्वास कायम भए मात्रै आर्थिक रुपान्तरण सम्भव हुने स्पष्ट पारे।
सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले कर छुट वा सहुलियतभन्दा बढी स्थिर नीति, छिटो निर्णय र प्रभावकारी कार्यान्वयन खोजिरहेको बताए। उनका अनुसार लगानीको वातावरण बनाउन नीतिगत स्पष्टता सबैभन्दा ठूलो आधार हो।
वाग्लेले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै उद्योग–व्यवसायमा कर्जा विस्तार हुन नसकेको अवस्थाप्रति प्रश्न उठाउँदै अब राष्ट्र बैंकले केवल नियम बनाउने निकायको भूमिकामा सीमित नबस्नुपर्ने धारणा राखे। उनले उत्पादन, रोजगारी र लगानी बढाउने साझेदार संस्थाको रूपमा राष्ट्र बैंक अघि आउनुपर्ने बताए।
उनले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र आधुनिक वित्तीय उपकरणलाई सहज बनाउने नीति आवश्यक रहेको उल्लेख गरे। साथै, पुँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा पनि जोड दिए।
अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षको बजेट नियमित खर्चको दस्तावेज मात्र होइन, आर्थिक सुधार र संरचनागत परिवर्तनको रोडम्याप हो। त्यसैले मौद्रिक नीतिले पनि सोही लक्ष्यलाई साथ दिनुपर्ने उनको भनाइ छ।
छलफलबाट आएका सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यकता अनुसार सरकार तथा नेपाल राष्ट्र बैंकबीच संयुक्त कार्यदल गठन गरेर सुधारका कार्यक्रम अघि बढाइने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले व्यक्त गरेका छन्।






































