बुटवल । नेकपा एमाले भित्र नेतृत्व शैली र संगठन सञ्चालनको विषयमा असन्तुष्टि खुलेर सतहमा आएको छ। रूपन्देहीका नेता–कार्यकर्ताले पार्टीको नेतृत्व र कार्यशैलीमा आमूल सुधार नगरे सदस्यता नवीकरण अभियान नै प्रभावित हुने चेतावनी दिएका छन्।

‘मिसन पार्टी जागरण’ अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विस्तारित बैठकमा स्थानीय तहका प्रतिनिधिहरूले केन्द्रदेखि वडा तहसम्म संगठन पुनर्गठनको माग गरेका हुन्। उनीहरूका अनुसार अहिलेको संरचनाबाट कार्यकर्तामा उत्साह जगाउन नसकिने अवस्था बनेको छ।

बैठकमा बोल्ने अधिकांश नेता–कार्यकर्ताले निर्वाचनको हारको जिम्मेवारी तल्लो तहका कार्यकर्तामाथि थोपरेर शीर्ष नेतृत्व उम्किन खोजेको आरोप लगाए। उनीहरूले पार्टीभित्र आत्मसमीक्षा, जिम्मेवारी निर्धारण र नेतृत्वको कार्यशैलीमा परिवर्तन अपरिहार्य भएको धारणा राखे।

स्थानीय नेताहरूले नेतृत्व जनतामाझ र कार्यकर्तामाझ पुग्न छाडेकाले संगठन कमजोर बन्दै गएको बताए। कार्यकर्तासँग प्रत्यक्ष संवाद टुट्दै जाँदा सदस्यता नवीकरणको उत्साह पनि घटेको उनीहरूको निष्कर्ष छ।

बैठकमा केही नेताले पार्टीभित्र ुनेतालाई खुसी पार्ने संस्कृतिु मौलाउँदै गएको र विचार, वर्गीय राजनीति तथा संगठनात्मक मूल्य कमजोर बनेको टिप्पणी गरे। यसले इमानदार कार्यकर्ताको मनोबल खस्किएको उनीहरूको भनाइ थियो।

रूपन्देहीमा यसपटक सदस्यता नवीकरण अपेक्षाअनुसार हुन नसकेको उल्लेख गर्दै नेताहरूले अहिले देखिएको असन्तुष्टिलाई बेवास्ता गरे आगामी दिनमा संगठन थप कमजोर हुने चेतावनी दिए।

विस्तारित बैठकमा केन्द्रीय सचिव छविलाल विश्वकर्मा, पूर्वमुख्यमन्त्री लीला गिरी, खिमलाल भट्टराईलगायत नेताको उपस्थिति रहे पनि कार्यकर्ताको मुख्य सन्देश भने स्पष्ट थियो—संगठन पुनर्गठन, नेतृत्वको आत्मसमीक्षा र कार्यशैलीमा परिवर्तन नगरे पार्टीलाई पुनः बलियो बनाउन कठिन हुने।