काठमाडौं । सरकारको निर्णयपछि अब नेपालभित्र हवाई यात्रा थप महँगो भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै त्यसको प्रत्यक्ष असर हवाई टिकटमा परेको हो। इन्धन महँगिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको फ्युल सरचार्ज समायोजन गर्दै औसत ८ प्रतिशतले हवाई भाडा बढाएको छ।

सरकारले साउन १७ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएर २९० रुपैयाँ पुर्‍याएपछि वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च बढेको थियो। त्यसकै आधारमा प्राधिकरणले नयाँ भाडादर लागू गरेको हो।

नयाँ व्यवस्थाअनुसार काठमाडौं–धनगढी रुटमा टिकट मूल्य ८८० रुपैयाँले बढेको छ। यसअघि १० हजार १२० रुपैयाँ रहेको फ्युल सरचार्ज अब ११ हजार रुपैयाँ पुगेको छ।

यस्तै, विराटनगर–धनगढी रुटमा सबैभन्दा धेरै १ हजार २९० रुपैयाँ वृद्धि भएर टिकट मूल्य १६ हजार ३५ रुपैयाँ पुगेको छ। नेपालगञ्ज–भद्रपुर रुटमा पनि भाडा १ हजार १७० रुपैयाँ बढेर १४ हजार ५६० रुपैयाँ पुगेको छ।

सरकारले इन्धनको मूल्य बढाएपछि त्यसको भार अब प्रत्यक्ष रूपमा यात्रुको खल्तीमा परेको छ। विशेषगरी दुर्गम जिल्लामा हवाई सेवा नै प्रमुख यातायात भएकाले भाडा वृद्धिले सर्वसाधारण, व्यवसायी, बिरामी र पर्यटन क्षेत्रलाई समेत थप आर्थिक भार पर्ने देखिएको छ।

यद्यपि सरकारले इन्धन मूल्य वृद्धिलाई अन्तर्राष्ट्रिय बजारसँग जोडेर व्याख्या गरे पनि यसको प्रभाव भने हवाई यात्रुहरूले महँगो टिकटमार्फत भोग्नुपर्ने अवस्था सिर्जना भएको छ।