काठमाडौं । नेपाल प्रहरीले अवैध हातहतियार नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानमा दुई महिनामै ८४ जना पक्राउ परेका छन्। वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरिएको अभियानका क्रममा ६७ थान विभिन्न प्रकारका हतियार र सयौं राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट ८, कोशीबाट १४, मधेसबाट ११, बागमतीबाट ५, गण्डकीबाट १८, लुम्बिनीबाट १३, कर्णालीबाट १० र सुदूरपश्चिमबाट ५ जना रहेका छन्।अभियानका क्रममा २ थान चाइनिज पेस्तोल, २ थान पेस्तोल, १ थान रिभल्भर, ९ थान कटुवा पेस्तोल, ४१ थान भरुवा बन्दुक, ९ थान बन्दुक र ३ थान एयरगन बरामद गरिएको छ।

यस्तै चाइनिज पेस्तोलका ४ राउन्ड, एसएलआरका २६३ राउन्ड, कटुवा पेस्तोलका १४ राउन्ड तथा विभिन्न बन्दुकमा प्रयोग हुने थप ७० राउन्ड गोली पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीले अवैध हातहतियारको ओसारपसार, भण्डारण र प्रयोग नियन्त्रण गर्न अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ। साथै, कसैले अवैध हतियार लुकाएर राखेको जानकारी भए प्रहरीलाई सूचना दिन र आफूसँग रहेका अवैध हतियार स्वेच्छाले बुझाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।