काठमाडौं— नेपाल प्रहरीले तीन महिनाको अवधिमा देशभरबाट हातहतियारसम्बन्धी कसुरमा संलग्न ८४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत वैशाख १ गतेदेखि असार मसान्तसम्म सञ्चालन गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न प्रकारका ६७ थान हातहतियार बरामद गरेको जनाएको छ । बरामद हतियारमा २ थान चाइनिज पेस्तोल, २ थान पेस्तोल, १ थान रिभल्वर, ९ थान कटुवा पेस्तोल, ४१ थान भरुवा बन्दुक, ९ थान बन्दुक र ३ थान एयरगन रहेका छन् ।
त्यस्तै, उनीहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गोलीमध्ये चाइनिज पेस्तोलको ४ राउन्ड, एसएलआरको २६३ राउन्ड, कटुवा पेस्तोलको १४ राउन्ड र अन्य विभिन्न बन्दुकमा प्रयोग हुने ७० राउन्ड गोली रहेका छन् ।
अवैध हातहतियारको कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने कामलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ । अपराध नियन्त्रण तथा समाजलाई अपराधमुक्त बनाउने उद्देश्यले अवैध हातहतियारविरुद्धको कारबाहीलाई थप प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।






































