काठमाडौं । काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। भारीदेखि धेरै भारी वर्षाको सम्भावनाका कारण विशेषगरी साना नदी, खोला र खोल्सीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको हो।
विभागका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा र चितवन, गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङ, लुम्बिनी प्रदेशका नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा र रुकुम (पूर्व), कर्णाली प्रदेशका रुकुम (पश्चिम), जाजरकोट र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र कञ्चनपुरका नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ।
मौसमविद्का अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनीका पहाडी तथा तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
विभागले नदी किनार, तटीय बस्ती, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, नदी तर्ने, माछा मार्ने, यात्रा गर्ने वा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा मौसम विभागको अद्यावधिक सूचनालाई निरन्तर पछ्याउन पनि अनुरोध गरेको छ।






































