काठमाडौं। आज अन्तरिक्षमा एउटा दुर्लभ र ऐतिहासिक घटना हुँदैछ। अमेरिकी कम्पनी स्पेसएक्सको करिब ४ टन तौल भएको रकेटको दोस्रो चरण नेपाली समयअनुसार दिउँसो १२ बजेर २० मिनेटमा चन्द्रमाको सतहमा ठोक्किँदैछ।

यो रकेटको टुक्रा चन्द्रमाको पश्चिमी भागस्थित आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रतिघण्टा करिब ८ हजार ६९० किलोमिटरको गतिमा पुग्ने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार ठक्करबाट करिब तीन टन टीएनटी विस्फोट बराबर ऊर्जा निस्किनेछ, जसले चन्द्रमामा झण्डै २७ मिटर चौडा र ५ मिटर गहिरो नयाँ खाडल बनाउनेछ।

यो रकेट सन् २०२५ मा फायरफ्लाइ एयरोस्पेसको ब्लु घोस्ट र जापानी कम्पनी आइस्पेसको चन्द्र अभियान प्रक्षेपणका क्रममा प्रयोग गरिएको थियो। मिशन पूरा भएपछि इन्धन सकिएकाले यसको दोस्रो चरणलाई नियन्त्रण गर्न सकिएन। सौर्य गतिविधि र गुरुत्वाकर्षणको प्रभावले यो अन्ततः चन्द्रमातर्फ पुगेको हो।

ठक्करपछि चन्द्रमाको सतहबाट धुलो र ढुंगाका कण अन्तरिक्षमा फैलिनेछन्। नाङ्गो आँखाले देख्न कठिन भए पनि शक्तिशाली टेलिस्कोपबाट केही मिनेटसम्म यसको अवलोकन गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ।

यस घटनाको अध्ययनका लागि नासाको लुनार रिकोनिसेन्स अर्बिटर र दक्षिण कोरियाको दानुरी अर्बिटर तयारी अवस्थामा छन्। उनीहरूले ठक्करअघि र त्यसपछिका तस्बिर संकलन गरेर चन्द्र सतह र ठक्करको प्रभावबारे अनुसन्धान गर्नेछन्।

वैज्ञानिकहरूका अनुसार यो घटना केवल चन्द्रमामा रकेट ठोक्किएको समाचार मात्र होइन, अन्तरिक्ष फोहोरको बढ्दो चुनौतीको संकेत पनि हो। भविष्यमा आर्टेमिस कार्यक्रममार्फत चन्द्रमामा मानव बस्ती बसाउने योजना रहेकाले यस्ता अनियन्त्रित रकेटका टुक्राले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न यो अध्ययन अत्यन्त महत्वपूर्ण मानिएको छ। आजको यो ठक्करले चन्द्रमामा नयाँ खाडल मात्र बनाउने छैन, भविष्यको अन्तरिक्ष अभियानलाई पनि नयाँ दिशा दिने अपेक्षा गरिएको छ।