काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि देशका विभिन्न स्थानमा धार्मिक सद्भाव र सामाजिक शान्तिबारे चासो बढिरहेका बेला गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छुट्टाछुट्टै छलफल गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार भएको छलफलमा दुवै समुदायका प्रतिनिधिको धारणा सुन्नुका साथै देखिएका समस्या पहिचान गरी समाधानका उपायबारे प्रारम्भिक परामर्श गरिएको हो।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा पहिलो चरणमा हिन्दु समुदायका अगुवासँग र त्यसपछि मुस्लिम समुदायका अगुवासँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। छलफलमा धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो।

प्रवक्ता काफ्लेका अनुसार, दुवै समुदायले हालसम्म सामाजिक सद्भाव कायम राख्न सकारात्मक भूमिका खेलेको भन्दै आगामी दिनमा पनि संयम र जिम्मेवारीका साथ सहकार्य गर्न आग्रह गरिएको छ। साथै, समुदायबाट उठेका समस्या व्यवस्थित रूपमा संकलन गरी राज्यले गर्नुपर्ने कामको सूची तयार गर्नसमेत सुझाव दिइएको छ।

आजको बैठकबाट कुनै औपचारिक निर्णय भने गरिएको छैन। गृह मन्त्रालयले दुवै समुदायका प्रतिनिधिलाई एकै स्थानमा राखेर थप विस्तृत संवाद गर्ने र पहिचान भएका समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यसहित पुनः संयुक्त बैठक आयोजना गर्ने तयारी गरेको जनाएको छ।

धार्मिक सहिष्णुता र सामाजिक एकता नेपालको बहुसांस्कृतिक समाजको आधार भएकाले गृह मन्त्रालयले संवादलाई निरन्तरता दिने संकेत दिएको छ। सरकारले समुदायबीचको विश्वास अझ बलियो बनाउँदै सम्भावित तनावलाई संवादमार्फत समाधान गर्ने रणनीतिमा जोड दिएको छ।