सिरहा। सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको ज्यान गएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय छानबिन समितिले स्थानीय तहमा अध्ययन र छलफललाई तीव्र बनाएको छ। गृहमन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठन गरेको समितिले घटनास्थलको प्रत्यक्ष अवलोकन गर्दै प्रमाण संकलन, सर्वदलीय बैठक, व्यवसायी तथा मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल सुरु गरेको हो। समितिले सुनसरीको कप्तानगञ्जबाट सुरु भएको तनाव कसरी गोलबजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो र गणेश यादवको मृत्यु कसरी भयो भन्ने विषयलाई अनुसन्धानको मुख्य केन्द्र बनाएको जनाएको छ।
छानबिन टोलीले आन्दोलनका क्रममा व्यवसायीले बेहोरेको भौतिक क्षति, सुरक्षाको अवस्था तथा सामाजिक सद्भाव पुनःस्थापनाका उपायबारे समेत सरोकारवालाको धारणा संकलन गरिरहेको छ। उद्योग वाणिज्य संघले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। यसअघि गृहमन्त्री सुधन गुरुङ मृतक गणेश यादवको घरमै पुगेर परिवारसँग भेट गरेका थिए। उनले निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्ने र दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।






































