काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याउँदै सरकारले संसद्मा उठेका विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र अभिलेखबाट हटाउन माग गरे । उनले संसद्मा सांसदहरूले उठाएका विषयलाई सरकारले सुन्ने, बुझ्ने र आवश्यक निर्णय तथा कार्यान्वयनमा लैजानुपर्ने बताए । 

उनले भने,‘ हामी यहाँ थुप्रै दिनदेखि प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई सच्याउनुपर्छ भन्ने मागका साथ विरोध गरिरहेका छौँ । यो रेकर्डबाट पनि हटाइएको छैन । तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेछ भन्ने नै लागेको हो र मेटाउनुभएको छैन या के हो रु यो पनि यहाँले पनि भन्दिँदाखेरि हुन्थ्यो हामीलाई । हामी यहाँ आउँछौँ, बोल्छौँ । बोल्नुको मतलब चाहिँ के हुनुपर्ने हो रु बोल्ने काम हो, त्यसले गर्दा बोल्ने मात्रै हो कि रु बोलेपछि सुन्नुपर्ने, सुनेपछि बुझ्नुपर्ने, बुझेपछि समझदारी र सहमति हुनुपर्ने जस्तो मलाई चाहिँ लाग्छ ।’

सांसद साम्पाङले नेपाल कानुनी राज्य भएकाले जनप्रतिनिधिले देशको जुनसुकै भूभागमा निर्वाध रूपमा आवतजावत गर्न पाउनुपर्ने बताए । जनकपुर भ्रमणका क्रममा आफूहरूमाथि अवरोध र कुटपिट भएको उल्लेख गर्दै उनले दोषीमाथि कारबाहीको माग गरे ।

उनले भने, ‘मलाई चाहिँ यो राज्य भनेको सहमति जस्तो लाग्छ । हामी सबैले यसो गरौँ है भन्ने सल्लाह जस्तो लाग्छ । सहमति जुटाउनका लागि हामी बोल्छौँ होला। हामीले बोलेका कुराहरू सरकारले कति गम्भीर भएर सुनिरहेको छ रु सुनेपछि त्यसलाई कार्यान्वयनमा देखाउनुपर्छ । म यो पनि आग्रह गर्न चाहन्छु । अब एउटा सांसदलाई आफ्नै देशमा पूर्वको सांसद हो या पश्चिमको सांसद होस्, निर्वाध रूपमा घुमफिर गर्न पाउने अधिकार छ । जनकपुर जाँदाखेरि जे खालको चाहिँ एउटा समूहले निषेध गर्ने कोसिस गरे, यो कस्तो राज्य हो, मतभ्रम लागिरहेछ । यो कानुनी राज्य हो कि, जङ्गली राज्य हो कि रु मेरो घरको छेउमा नआइजा, यहाँ नआइजा, यो बाटो नहिन भन्ने खालका अभिव्यक्तिहरू भइरहँदा, साउन महिनाको ५ गते हामी त्यहाँनेर जनकपुर जाँदाखेरि हाम्रा श्रमदाताहरूमाथि कुटपिट पनि भएको छ एउटा अज्ञात समूहबाट । त्यो समूहले यस्तो गर्यो है भनेर मैले गृहमन्त्रीज्यूलाई भनेको पनि छु व्यक्तिगत फोन गरेर । कारबाही भयो कि भएन रु कारबाही हुन्छ कि हुँदैन रु यो प्रश्न गर्न चाहन्छु नेपाल सरकारलाई सदनमार्फत ।

उनले उक्त घटनाबारे गृहमन्त्रीलाई व्यक्तिगत रूपमा जानकारी गराएको उल्लेख गर्दै घटनामा संलग्नमाथि कारबाही भए–नभएकोबारे सरकारसँग जवाफ माग गरे । साम्पाङले विभिन्न समूहले आफूलाई ‘सेना’ भनेर चिनाउने प्रवृत्तिप्रति पनि आपत्ति जनाए । नेपालमा एउटै मात्र आधिकारिक सेना नेपाली सेना रहेको उल्लेख गर्दै उनले अन्य कुनै पनि नामका ‘सेना’ समूह गठन गर्ने अधिकार कसले दिएको हो भन्ने प्रश्न गरे ।

उनले यस्ता समूहसँग सरकारले वार्ता गर्न नहुने भन्दै कानुनी रूपमा निषेध गर्नुपर्ने धारणा राखे । त्यस्तै, उनले कोशी ब्यारेजका कारण बर्खाको समयमा सीमावर्ती क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए । आफ्नो भूभाग डुबाएर राष्ट्रवाद प्रदर्शन गर्न नसकिने भन्दै उनले दीर्घकालीन समाधान खोज्न आग्रह गरे ।

हालै भएका घटनाहरूको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्दै साम्पाङले सरकार घटना हुनुअघि नै सक्रिय हुनुपर्ने बताए ।