काठमाडौं । बागमती प्रदेशको सत्ता समीकरण फेरि नयाँ मोडमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हाम्रो नेपाली पार्टी ९हानेपा० लाई सरकारमा भित्र्याउँदै राजनीतिक समीकरणमा नयाँ चाल खेलेका छन्।

हानेपाका शैलेन्द्रमान बज्रचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको छ। यसका लागि तत्कालीन मन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन्। मुख्यमन्त्रीको निर्देशनमै मन्त्री परिवर्तन गरेर हानेपालाई सरकारमा सहभागी गराइएको स्रोतको भनाइ छ।

प्रदेशसभामा दुई सांसद रहेको हानेपा कांग्रेस नेतृत्वको सरकारमा प्रवेश गरेसँगै बागमतीको सत्ता अंकगणित थप रोचक बनेको छ। यसअघि एमाले–नेकपा गठबन्धनले सरकार गठनका लागि राप्रपाको समर्थन नपाए हानेपासँग सहकार्य गर्ने रणनीति बनाएको थियो। तर हानेपा कांग्रेस नेतृत्वको सरकारमै सहभागी भएपछि विपक्षी गठबन्धनको योजनामा धक्का लागेको छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। यस्तो अवस्थामा हानेपाको सरकार प्रवेशलाई बागमतीको बदलिँदो सत्ता समीकरणमा कांग्रेसको रणनीतिक कदमका रूपमा हेरिएको छ।