बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउनको अन्तिम साता प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सरकारको आन्तरिक तयारीअनुसार साउन २५ देखि ३० गतेभित्र प्रदेश सभा बैठक बोलाएर विश्वासको मत लिने योजना अघि बढाइएको हो।
प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरका अनुसार सरकारसँग बैठक बोलाउने विषयमा छलफल भइरहेको छ। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ।
विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनबीच सहमति भएको छ। अहिले नयाँ सत्ता समीकरणअनुसार एमालेले सरकारको नेतृत्व कायम राख्ने भए पनि मन्त्रालय बाँडफाँट र मन्त्री छनोटबारे भने अझै टुंगो लागिसकेको छैन।
सत्ता साझेदार नेकपाभित्र अर्थ मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालयको दाबी भइरहेको छ। पार्टीभित्र दीपेन्द्र पुन, इन्द्रजित थारु र नरमाया ढकाललगायत नेताहरू मन्त्री बन्न आन्तरिक लबिङमा सक्रिय रहेको स्रोतको दाबी छ।
यसैबीच, एमालेका विष्णु पन्थी र नेकपाकी निर्मला थारुसहित चार प्रदेशसभा सदस्य विदेशमा रहेका कारण पनि विश्वासको मत लिने प्रक्रिया केही ढिलो भएको बताइएको छ।
हाल लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच र जसपा नेपालका दुई मन्त्री छन्। अब विश्वासको मतपछि मात्रै नयाँ मन्त्रिपरिषद् गठन र मन्त्रालय बाँडफाँटको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।






































