काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै विभिन्न संगठन र क्षेत्र परिचालनका लागि १० जना नेतालाई जिम्मेवारी दिएको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, दलित संघ, किसान संघ, आदिवासी जनजाति, विदेश जनसम्पर्क समिति, बुद्धिजीवी तथा ट्रेड युनियनलगायत क्षेत्रको समन्वय गर्न नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको हो।
भेलाका लागि केन्द्रीय प्रतिनिधिको नामावली टुंग्याउने काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। इतर समूहले यो भेलालाई शक्ति प्रदर्शनभन्दा पार्टीभित्र आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी राजनीतिक कार्यदिशामाथि केन्द्रित बहसको मञ्च बनाउने तयारी गरेको जनाएको छ।






































