काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पताल मा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछिको प्रशासनिक व्यवहारको विरोधमा चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका ७० मध्ये करिब ४० चिकित्सकले राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सक पनि सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेका छन्।
चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग्दै उनीहरू पदमा रहुञ्जेल काममा नफर्किने अडान लिएका छन्। आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवा समेत प्रभावित भएको छ।
चिकित्सकका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि उनीहरू वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए। तर वार्ताकै क्रममा दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्न सकिने कुरा उठेपछि वातावरण तनावपूर्ण बनेको उनीहरूको दाबी छ।
चिकित्सकहरूले सीडीओ र एसपीले अपशब्द प्रयोग गर्दै प्रहरी परिचालन गरेको, मोबाइल खोसेर नियन्त्रणमा राखेको र अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका छन्। यस्तो परिस्थितिमा सुरक्षित रूपमा सेवा दिन नसकिने निष्कर्षसहित सामूहिक राजीनामाको निर्णय गरिएको उनीहरूको भनाइ छ।
यसअघि साउन ८ गते नारायणी अस्पतालमै चिकित्सक डा. प्रमोद राम माथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यता, नेपाल चिकित्सक संघ ले घटनाको विरोध गर्दै मंगलबार देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले दोषीमाथि तत्काल कडा कारबाही, चिकित्सकको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।
चिकित्सक आन्दोलनसँगै वीरगन्जको स्वास्थ्य सेवा संकटमा परेको छ भने घटनाको निष्पक्ष छानबिन र प्रशासनको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ।





































