काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा करिब ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ फिर्ता तथा बचत मिलान गरेको जनाएको छ। समितिले साना बचतकर्तालाई प्राथमिकतामा राख्दै रकम वितरणलाई तीव्र बनाएको हो।

समितिका अनुसार २१ करोड रुपैयाँ नगद फिर्ता गरिएको छ भने ५० करोड रुपैयाँ बराबरको बचत मिलान गरिएको छ। शिवशिखरसहित विभिन्न समस्याग्रस्त सहकारीका साना बचतकर्ताले पहिलो चरणमै राहत पाएका छन्। ज्येष्ठ नागरिक, एकल महिला र गम्भीर बिरामीलाई समेत प्राथमिकता दिइएको छ।

यता समितिले सहकारीको ऋण नतिर्ने सञ्चालक र ऋणीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। बैंक खाता रोक्का, राहदानी रोक्का, कालोसूचीमा राख्ने र धितो लिलाम गर्ने प्रक्रिया तीव्र पारिएको समितिको भनाइ छ। समितिले चेतावनी दिँदै ऋण नतिरे कानुनी कारबाहीबाट उम्किन नसकिने स्पष्ट पारेको छ।

यसैबीच कान्तिपुर सेभिङ एन्ड क्रेडिट र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका बचतकर्तालाई साउनको तेस्रो सातादेखि रकम फिर्ता सुरु गरिने भएको छ। साथै, ५ लाखदेखि १ करोड रुपैयाँसम्मको बचत मिलान गर्ने नयाँ व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको समितिले जनाएको छ।