हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भए पनि अब मुख्यमन्त्री को बन्ने भन्ने विषयले पार्टीभित्रै विवाद चर्किएको छ।

मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेता किरण थापा र केशव पोखरेल मुख्य दाबेदारका रूपमा उभिएका छन्। तीनै नेताले नेतृत्वमा दाबी गरेपछि दलभित्र सहमति जुटाउन सकस देखिएको छ।

प्रदेशसभामा एमाले–नेकपाको मात्रै स्पष्ट बहुमत नपुग्ने भएकाले राप्रपा वा हाम्रो नेपाली पार्टीमध्ये कसको समर्थन लिने भन्ने समीकरण पनि पेचिलो बनेको छ।

पार्टी स्रोतका अनुसार केन्द्रीय नेतृत्वले सहमति गराउन नसके संसदीय दलभित्रै मतदान गरेर नेता छान्ने अवस्था आउन सक्छ। गुटबन्दी र नेतृत्व प्रतिस्पर्धाले बागमतीमा नयाँ मुख्यमन्त्री चयन थप अनिश्चित बनेको छ।