काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमाथि निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको दबाब बढाएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका युवाका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय दिलाउन तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
राप्रपाले हत्या, आगजनी, हिंसा र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ। पार्टीले दण्डहीनताको अन्त्य नगरे यस्ता घटना झन् बढ्ने चेतावनी पनि दिएको छ।
तराई–मधेस क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक तनाव दोहोरिन थालेको भन्दै राप्रपाले सुरक्षा व्यवस्थाको कमजोरी र प्रशासनिक भूमिकामाथि गम्भीर समीक्षा गर्नुपर्ने जनाएको छ। यस्ता घटना दोहोरिन नदिन सर्वपक्षीय छानबिन तथा संवाद समिति गठन गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग राप्रपाले आग्रह गरेको छ।






































