काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।

संघका अनुसार गत शनिबार नारायणी अस्पतालमा डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा डा. राम गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रहरी प्रमुखको निर्देशनमा प्रहरीले संघका केन्द्रीय कार्यसमिति सदस्य, नारायणी शाखाका अध्यक्ष तथा अन्य चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप पनि संघले लगाएको छ।

घटनामा संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै संघले देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको जनाएको छ। यसका कारण काठमाडौंका स्तूपा सामुदायिक अस्पताल, एभरेष्ट हस्पिटल, भेनस हस्पिटललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका हजारौं बिरामी प्रभावित भएका छन्।

नेपाल चिकित्सक संघले दोषीमाथि शीघ्र कानुनी कारबाही नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी समेत दिएको छ।