काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटपछि देशभर चिकित्सक आन्दोलन चर्किरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी ले चिकित्सकका मागप्रति सरकार संवेदनशील रहेको तर त्यसको असर बिरामीको उपचारमा पर्न नहुने बताए। उनका अनुसार अस्पताल आमनागरिकको अन्तिम भरोसाको केन्द्र भएकाले स्वास्थ्य सेवा अवरुद्ध गर्नु उपयुक्त विकल्प नभएको मन्त्रालयको धारणा छ।
मन्त्रालयले घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही हुने आश्वासन दिँदै चिकित्सक, स्थानीय प्रशासन र सरोकारवालासँग निरन्तर संवाद तथा समन्वय भइरहेको जनाएको छ। स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव र विभागीय अधिकारीहरू समाधानका लागि सक्रिय रहेको मन्त्रालयको भनाइ छ। यसैबीच स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचन वीरगञ्ज पुगेर अस्पताल प्रशासन, चिकित्सक र स्थानीय प्रशासनसँग छलफलमा जुटेका छन्। मन्त्रालयले काठमाडौंबाट समेत अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
यता, नेपाल चिकित्सक संघ भने आफ्नो अडानबाट पछि हटेको छैन। संघले चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी जेल नहालेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ। संघको आह्वानअनुसार देशभर अधिकांश स्वास्थ्य संस्थाले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन्। नारायणी अस्पतालका चिकित्सकहरूले भने सामूहिक राजीनामा दिँदै आकस्मिक सेवा समेत ठप्प पारेका छन्। उनीहरूले चिकित्सकमाथिको आक्रमणमा संलग्न दोषीलाई कडा कारबाही, साथै प्रमुख जिल्ला अधिकारी ९सीडीओ० र जिल्ला प्रहरी प्रमुख ९एसपी० को राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन्।






































