काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद पुनम अग्रवालले निर्वाचन प्रणालीलाई कम खर्चिलो, पारदर्शी र प्रविधिमैत्री बनाउन निर्वाचन आयोगसँग स्पष्ट कार्ययोजना माग गरेकी छन्।
प्रस्तावित निर्वाचन आयुक्त डा। राजीव सुब्बाको संसदीय सुनुवाइका क्रममा अग्रवालले राज्य र उम्मेदवार दुवैतर्फबाट हुने अत्यधिक निर्वाचन खर्च नियन्त्रण गर्न आधुनिक प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताइन्।
उनले निर्वाचनलाई डिजिटल र पारदर्शी बनाउँदै अनावश्यक खर्च घटाउने ठोस योजना के छ भन्ने प्रश्न राखिन्। साथै, उम्मेदवारबीच हुने खर्चिलो प्रतिस्पर्धालाई प्रविधिमार्फत कसरी नियन्त्रण गरिन्छ भन्ने विषयमा पनि आयोगको धारणा खोजिन्।
विदेशमा रहेका लाखौं नेपालीले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको उल्लेख गर्दै अग्रवालले उनीहरूलाई अब थप प्रतीक्षा नगराई छिटोभन्दा छिटो मतदानको अधिकार सुनिश्चित गर्न ‘फास्ट ट्र्याक’ योजना ल्याउन आग्रह गरिन्।
उनले निर्वाचन आयोगले प्रतिबद्धतामै सीमित नभई प्रविधिमा आधारित आधुनिक निर्वाचन प्रणाली लागू गरेर व्यवहारमै सुधार देखाउनुपर्नेमा जोड दिइन्।






































