काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका माग तत्काल सम्बोधन नभए देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।महासंघले साउन १६ र १७ गते हुने तेस्रो राष्ट्रिय परिषद् बैठकबाट नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनका लागि तयार रहन पनि आह्वान गरिएको छ।

महासंघले प्रोत्साहन भत्ता, बालविकास शिक्षक, विद्यालय कर्मचारी, राहत तथा अस्थायी शिक्षकका सेवा–सुविधा, पेसागत स्थायित्व, प्राविधिक ग्रेड, निवृत्तिभरण र स्थानीय भत्तालगायतका माग सरकारले बेवास्ता गरेको आरोप लगाएको छ। साथै, नयाँ नियमावलीले शिक्षकको ट्रेड युनियन अधिकार संकुचित गरेको, सरुवामा अनावश्यक बन्देज लगाएको र अदालतका फैसला कार्यान्वयनमा समेत सरकारले ढिलाइ गरेको भन्दै महासंघले शिक्षा ऐन जारी गर्न र माग पूरा गर्न दबाब बढाउने संकेत दिएको छ।