काठमाडौं ।नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विधान संशोधन गर्दै पार्टीको केन्द्रीय विभाग गठनसम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ। संशोधित विधानअनुसार अब केन्द्रीय विभागको संख्या निश्चित २८ मा सीमित रहने व्यवस्था हटाइएको छ।अब विधानमा केन्द्रमा तोकिएबमोजिमका केन्द्रीय विभाग गठन हुने व्यवस्था गरिएको छ। यसअघि भने विधानमै २८ वटा विभागको नाम र संख्या स्पष्ट रूपमा उल्लेख गरिएको थियो।

संशोधनसँगै प्रत्येक विभागमा रहने सदस्य संख्या पनि घटाइएको छ। अब प्रत्येक विभागमा बढीमा २५ जना सदस्य रहनेछन्, जबकि यसअघि एउटै विभागमा ५१ जनासम्म सदस्य राख्न मिल्ने व्यवस्था थियो।त्यस्तै, विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्य नियुक्त गर्ने अधिकार केन्द्रीय सभापतिलाई दिइएको छ। उपप्रमुख, सचिव र सदस्यका लागि पार्टीको क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था कायम राखिए पनि विभाग प्रमुखका लागि आवश्यक योग्यता भने विधानमा खुलाइएको छैन।

यता, कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को संरचनामा पनि परिवर्तन गरेको छ। संशोधित विधानअनुसार अब उक्त प्रतिष्ठानमा बढीमा ६१ जना सदस्य नियुक्त गर्न सकिनेछ। यसअघि यो संख्या ५१ जना मा सीमित थियो।विधान संशोधनसँगै कांग्रेसले पार्टीको संगठनात्मक संरचनालाई थप लचिलो बनाउने प्रयास गरेको देखिए पनि विभाग गठन र नेतृत्व चयनमा सभापतिको अधिकार बढेको भन्दै यसलाई पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडेर पनि हेरिएको छ।