काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी र मर्यादित बनाउन सत्तापक्षले नै बढी जिम्मेवारी लिनुपर्ने भन्दै प्रतिपक्षी दलले सभामुख डीपी अर्याल को ध्यानाकर्षण गराएको छ।

सभामुखले दलहरूबीच संसद्को प्रभावकारिताबारे छलफल गर्न बोलाएको बैठकपछि नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले प्रतिपक्षको भूमिकाभन्दा सत्तापक्षकै भूमिका बढी महत्त्वपूर्ण हुने बताएका हुन्।

उनका अनुसार प्रतिपक्षी सांसदले उठाएका विषयमा सत्तापक्षका सांसदले सरकारकै प्रवक्ताजस्तै तत्काल प्रतिवाद गर्ने परिपाटी अन्त्य हुनुपर्ने माग सभामुखसमक्ष राखिएको छ। संसद्मा सरकारको धारणा सम्बन्धित मन्त्री वा सरकारले नै राख्नुपर्ने, सांसदहरूबीच आरोप–प्रत्यारोपको प्रतिस्पर्धाले सदनको मर्यादा घटाउने उनको भनाइ छ।

दुलालले सरकारले संसद्लाई आवश्यक विधेयक र कार्यसूची (बिजनेश) उपलब्ध गराउन नसकेको विषय पनि उठाएका छन्। साउन १४ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भए पनि अहिलेसम्म कुनै विधेयक दर्ता नभएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराउन सभामुखसँग आग्रह गरेका छन्।

प्रतिपक्षले संसद्को प्रभावकारिता केवल विपक्षीको भूमिकाले मात्र सम्भव नहुने, सरकार र सत्तापक्षले आवश्यक विधेयक, जवाफदेहिता र संसदीय मर्यादा कायम राखे मात्रै सदन प्रभावकारी बन्ने धारणा व्यक्त गरेको छ।