काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको संसदीय सुनुवाइमा नेकपा नेता वर्षमान पुनले विदेशबाट मतदान, अन्तरजिल्ला मतदान, ‘नो भोट’ र ‘राइट टु रिकल’ जस्ता विषयमा स्पष्ट कार्ययोजना माग गरेका छन्।
पुनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रतिबद्धता बारम्बार दोहोरिए पनि त्यसको कार्यान्वयन कसरी हुने भन्ने विषय अझै अस्पष्ट रहेको टिप्पणी गरे। उनले नेपालभित्रै रोजगारी, अध्ययन वा अन्य कारणले आफ्नो स्थायी मतदान केन्द्र पुग्न नसक्ने नागरिकको मताधिकार सुनिश्चित गर्ने योजना पनि आयोगसँग माग गरे।
उनले अन्तरजिल्ला मतदान प्रणाली कहिले र कसरी लागू हुन्छ भन्नेबारे स्पष्ट जवाफ खोज्दै निर्वाचन प्रणालीलाई समयअनुकूल बनाउन आयोगले ठोस दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए।
सुनुवाइका क्रममा पुनले संविधान निर्माणकालदेखि बहसमा रहेका ‘नो भोट’ र ‘राइट टु रिकल’ विषयमा पनि आयोगले स्पष्ट धारणा र कार्यदिशा सार्वजनिक गर्नुपर्नेमा जोड दिए।






































