काठमाडौं। विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएपछि फकल्याण्ड -माल्भिनास टापुसम्बन्धी राजनीतिक सन्देश भएको ब्यानर प्रदर्शन गरेको विषयमा फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ।

खेलपछि अर्जेन्टिनी खेलाडीहरूले माल्भिनास अर्जेन्टिनाकै हो लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। फिफाको नियमअनुसार खेल मैदानमा राजनीतिक सन्देश दिन निषेध भएकाले म्याच रिपोर्ट अध्ययन गरी आवश्यक कारबाहीबारे निर्णय गरिने जनाएको छ।

यो विवादका कारण अर्जेन्टिनालाई फाइनलबाट बाहिर निकालिने सम्भावना नरहे पनि, ब्यानर प्रदर्शनमा संलग्न खेलाडीमाथि स्पेनविरुद्धको फाइनलमा प्रतिबन्ध वा अन्य अनुशासनात्मक कारबाही हुन सक्ने चर्चा छ।

फकल्याण्ड -माल्भिनास  टापु लामो समयदेखि अर्जेन्टिना र बेलायतबीचको विवादित क्षेत्र हो। बेलायती सरकारले फिफाको अनुसन्धानलाई समर्थन गरेको छ भने अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइलीले खेलाडीहरूको भावनालाई स्वाभाविक बताए पनि विवादको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्ने धारणा व्यक्त गरेका छन्।