काठमाडौं । विश्वकप फुटबल हेर्दा धेरैले एउटा कुरा अवश्य याद गरेका होलान्। खेलाडीहरूले जर्सीभित्र महिलाको स्पोर्ट्स ब्राजस्तै देखिने कालो भेस्ट किन लगाएका हुन्छन् ? धेरैले यसलाई फेसन ठान्छन्। तर वास्तविकता भने फरक छ। यो आधुनिक फुटबलको अत्याधुनिक प्रविधि हो, जसले खेलाडीको प्रत्येक चाल, गति र शारीरिक अवस्थाको रियल–टाइम तथ्याङ्क संकलन गर्छ।
आखिर कसरी काम गर्छ यो ‘स्मार्ट भेस्ट’?
विश्वकपका अधिकांश खेलाडीको जर्सीभित्र देखिने कालो भेस्ट कुनै फेसन वा सुरक्षा कवच होइन।यसलाई स्मार्ट भेस्ट वा जीपीएस ट्र्याकिङ भेस्ट भनिन्छ। यो खेलाडीको शारीरिक अवस्था, फिटनेस र प्रदर्शन मापन गर्न प्रयोग गरिने अत्याधुनिक प्रविधियुक्त उपकरण हो। यो भेस्टको पछाडिको भागमा सानो सेन्सर राखिएको हुन्छ। यही सेन्सरले उपग्रह प्रणाली, गति मापन गर्ने सेन्सर र शरीरको चाल मापन गर्ने उपकरणमार्फत खेलाडीको सम्पूर्ण गतिविधि रेकर्ड गर्छ।
यसले खेलाडीले कति किलोमिटर दौडियो, अधिकतम गति कति पुग्यो, कति पटक स्प्रिन्ट गर्यो, कुन क्षेत्रमा बढी सक्रिय रह्यो, शरीरले कति भार सहनुपर्यो र मुटुको धड्कन कस्तो छ भन्ने सबै तथ्याङ्क सङ्कलन गर्छ। यही तथ्याङ्कको आधारमा प्रशिक्षक र मेडिकल टोलीले खेलाडीको शारीरिक अवस्था विश्लेषण गर्छन्। कुनै खेलाडी अत्यधिक थाकेको वा चोट लाग्ने जोखिममा देखिए समयमै आराम दिने वा प्रतिस्थापन गर्ने निर्णय यही प्रविधिले सहज बनाउँछ।
स्मार्ट भेस्टले खेलाडीको प्रशिक्षण पनि वैज्ञानिक बनाएको छ। एउटै अभ्यास सबै खेलाडीलाई गराइँदैन। कसलाई बढी दौडाउनुपर्ने, कसलाई आराम आवश्यक छ वा कसको फिटनेस घटिरहेको छ भन्ने निर्णय तथ्याङ्ककै आधारमा गरिन्छ। यो भेस्ट शरीरमा कसिलो गरी टाँसिने गरी बनाइएको हुन्छ। त्यसैले खेलका क्रममा सेन्सर हल्लिँदैन र तथ्याङ्क अत्यन्तै सटीक रूपमा सङ्कलन हुन्छ। घडी वा अन्य उपकरण खेलमा लगाउन नपाइने भएकाले पनि यो प्रविधि सबैभन्दा प्रभावकारी मानिन्छ।
आज ब्राजिल, अर्जेन्टिना, फ्रान्स, इङ्ल्यान्ड, स्पेनलगायत विश्वका अधिकांश शीर्ष राष्ट्रिय टोली र व्यावसायिक क्लबहरूले प्रशिक्षण र प्रतियोगिता दुवैमा यही स्मार्ट भेस्ट प्रयोग गरिरहेका छन्। आधुनिक फुटबलमा अब खेलाडीको प्रदर्शन केवल गोल, पास वा आँखाले देखिने खेलबाट मात्र मूल्याङ्कन हुँदैन। वैज्ञानिक तथ्याङ्कका आधारमा रणनीति बनाउने र खेलाडीको स्वास्थ्य व्यवस्थापन गर्ने नयाँ युगको महत्वपूर्ण माध्यम बनेको छ-स्मार्ट भेस्ट।
फुटबल मैदानमा सामान्य देखिने यो कालो भेस्ट वास्तवमा अत्याधुनिक प्रविधिले भरिएको एउटा ‘चलायमान प्रयोगशाला’ हो। जसले खेलाडीको प्रदर्शन सुधार्नुका साथै चोटपटकको जोखिम कम गर्न र प्रशिक्षकलाई तथ्यमा आधारित निर्णय लिन महत्वपूर्ण भूमिका खेलिरहेको छ। आधुनिक फुटबलमा प्रविधिको बढ्दो प्रयोगको यो एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ ।






































