काठमाण्डौ ।  सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको पत्ता लागेको छ ।नयाँ पासपोर्ट बनाएका उनीहरुको थाइल्यान्डको भिसा पनि लागिसकेको स्रोतको दावी छ। भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घर तोडफोड र आगजनी हुँदा पासपोर्ट जलेको भन्दै उनीहरुले नयाँ बनाएका थिए ।

सरकारले पासपोर्ट रोक्का गर्ने तयारी गर्दै गर्दा देउवा दम्पत्ति भने थाइल्याण्ड जाने तयारीमा थिए । देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई भने सतर्क गराएको थियो।

त्यसैगरी ओली, लेखक, देउवा र खड्कालगायतको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी गरेको छ। यसैबीच सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको सिआइबी र राहदानी विभागले उनीहरूको पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिसकेको छ । सम्पत्ति शुद्धीकरण विभागले राहदानी विभागलाई पत्राचार गर्‍यो भने उनीहरूको पासपोर्ट रोक्का हुन सक्छ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।