काठमाडौं । सुनसरीको देवानगञ्जसहित पूर्वी नेपालमा भएको हिंसात्मक घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारसँग निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। पार्टीले घटनालाई राजनीतिक लाभ–हानिको विषय नबनाउन सबै दललाई आग्रह गर्दै शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।


सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।


रास्वपाले हिंसाले कुनै पनि समस्याको समाधान नहुने उल्लेख गर्दै सरकारले तत्काल शान्ति–सुरक्षाको अवस्था नियन्त्रणमा ल्याउन, स्वतन्त्र र द्रुत छानबिन गर्न तथा दोषी जोसुकै भए पनि कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेको छ। साथै पीडित परिवारलाई राहत, क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेको छ।


पार्टीले अफवाह र उत्तेजनाबाट टाढा रहन नागरिक, सामाजिक तथा धार्मिक अगुवालाई अपिल गर्दै घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दलसँग आग्रह गरेको छ। साथै, आफ्ना स्थानीय समितिलाई पनि सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको जनाएको छ।