बुटवल । केन्द्रमा बदलिएको राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव लुम्बिनी प्रदेशमा देखिएको छ। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना पाँचै मन्त्रीको सामूहिक राजीनामा बुझाएको छ। यससँगै लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरण पूर्ण रूपमा फेरिने भएको छ।

कांग्रेस संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष समर्थन फिर्ताको पत्रसँगै पाँच मन्त्रीको राजीनामा बुझाएकी हुन्। राजीनामा दिनेमा आर्थिक मामिला, सामाजिक विकास, सहरी विकास, उद्योग–पर्यटन तथा वन मन्त्रालय सम्हालिरहेका मन्त्रीहरू रहेका छन्।


कांग्रेस सरकारबाट बाहिरिएसँगै अब प्रदेशमा नेकपा (एमाले) र नेकपाको संयुक्त सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। नयाँ मन्त्रीको चयन, मन्त्रालय बाँडफाँट र सरकार गठनका विषयमा दुवै दलका शीर्ष नेताबीच छलफल भइरहेको स्रोतहरूले बताएका छन्।


लुम्बिनीमा भएको यो राजनीतिक फेरबदलले प्रदेश सरकारको नेतृत्व, शक्ति सन्तुलन र आगामी नीति–निर्णयमा नयाँ समीकरणको सुरुवात गर्ने अपेक्षा गरिएको छ।